होर्मुज खुल्दै तेल मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा राहत


7

काठमाडौं— इरान ले स्ट्रेट अफ होर्मुज मा लगाएको अवरोध हटाएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।

युद्धविराम अवधिभर होर्मुजलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने निर्णय इरानले लिएपछि इन्धन आपूर्तिमा सहजता आएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC का अनुसार ‘ब्रेन्ट क्रुड आयल’ को मूल्य प्रति ब्यारेल ९८ डलरबाट घटेर ८८ डलरमा झरेको छ।

यसअघि इरान र अमेरिका बीच अप्रिल ७ को मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो, जुन अप्रिल २२ सम्म कायम रहने बताइएको छ।

विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति ढुवानी हुने होर्मुज क्षेत्रमा अवरोध भएपछि तेलको मूल्य आकासिएको थियो। युद्धअघि प्रति ब्यारेल ७० डलर रहेको ‘ब्रेन्ट क्रुड’ १०० डलर पार गर्दै अधिकतम ११५ डलरसम्म पुगेको थियो।

इन्धनको मूल्य वृद्धि हुँदा विश्वव्यापी ढुवानी प्रणाली प्रभावित हुने जोखिम बढेको थियो। केही वायुसेवा कम्पनीहरूले उडान कटौती गर्ने रणनीति बनाएको उल्लेख गरिएको छ।

त्यस्तै, होर्मुज बन्द हुँदा मल आपूर्तिमा पनि असर परेको थियो। विश्वको करिब एक तिहाइ मल यही मार्गबाट ढुवानी हुने गरेको छ।

युद्धविरामपछि इरानले अप्रिल २२ सम्म होर्मुज क्षेत्रमा अवरोध नगर्ने जनाएको छ। तर अमेरिका ले भने आफ्ना नाकाबन्दीसम्बन्धी नीति यथावत रहने संकेत दिएको छ।

—
रिपोर्टर: सुर्या राया / आम दर्शन न्युज

प्रतिक्रिया