नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर, बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात हुने
काठमाडौं – नेपाल र बंगलादेशबीच बिहीबार काठमाडौंमा विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरण (एनईए), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुने भएको हो।
सम्झौतापछि नेपालले बंगलादेशमा बिजुली निर्यात गर्न सुरु गर्नेछ। यस सम्बन्धमा विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बंगलादेशले चाहेमा सम्झौता भएको दिनमै पनि बिजुली दिन सकिने जानकारी दिएका छन्। बाढी पहिरोका कारण आंशिक क्षति पुगेका जलविद्युत आयोजनाहरू पुनः सञ्चालनमा आइसकेका छन्। सोलु दूधकोशीलगायत अन्य आयोजनाले पूर्ण उत्पादन गरिरहेकोले नेपालले तत्कालै बिजुली निर्यात गर्न सक्षम भएको बताइएको छ।
घोषले भने, "बाढीको कारणले आंशिक क्षति पुगेका आयोजना पुनः सञ्चालनमा आइसकेका छन्। अहिले उत्पादन धेरै भएकाले बिजुली खेर जाने अवस्था छ। बंगलादेशले लैजान चाहे आजकै भोलि बिजुली पठाउन तयार छौं।"
यस सम्झौतासँगै नेपालले बंगलादेशमा विद्युत निर्यात गर्ने पहिलो आधिकारिक प्रक्रिया सुरु हुने भएको छ। प्राधिकरणले बढीमा एक महिनाभित्र निर्यात प्रक्रिया थालिने जानकारी दिएको छ।
-आमा दर्शन न्युज