अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री खरेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले अपांगता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले अपांगता भएका नागरिकका विषयमा आवश्यक ऐन तथा कानुन निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले अपांग महासंघसँग निरन्तर छलफल गरेर हक–अधिकार सुदृढीकरणका उपायहरू लागू गर्ने उल्लेख गरे।

वर्तमान सरकारको कार्यकाल छोटो भए पनि ६ महिनाभित्र निर्वाचन गरिने म्याण्डेटअनुसार सरकार गठन भएको उल्लेख गर्दै उनले निर्धारित समयसीमाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए। उनले निर्वाचनका लागि अनुकूल वातावरण निर्माण भइसकेको दाबी समेत गरे।

अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार प्रवर्द्धन तथा संवर्द्धनका उद्देश्यले संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखमा विश्वभर ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदै आएको छ।

दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघसहित विभिन्न संघ–संस्थाले आज काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए। कार्यक्रमपछि भृकुटीमण्डपमा विशेष सभा आयोजना गरिएको थियो।

प्रतिक्रिया