चिसो बढेपनि मुस्ताङमा थामिएन पर्यटक,कार्तिकमै आए ७९ हजार पर्यटक

जोमसोम—धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा एकै महिनामा ७९ हजार ३७३ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दशै—तिहार र छठ पर्वको छेको पारेर कार्तिक महिनामा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार  अनुकुल मौसमसंगै चालु वर्षको कार्तिक महिनामा  आन्तरिक पर्यटक ७३ हजार ८७९ र बाह्य पर्यटक ५ हजार ५०४ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।

 उल्लेखित पर्यटक मुस्ताङ भित्रिदा १३ हजार ९०१ सवारी साधन मुस्ताङ जिल्ला प्रवेश गरेको प्रहरीको रेकर्डमा छ । जसमध्ये  मोटरसाईकल ६ हजार ४०८, जिपकार ६ हजार २८९ र बस ७५० मुस्ताङ प्रवेश भएको प्रहरी प्रमुख डिएसपी पाण्डेले जानकारी दिए ।

मुस्ताङ आएका पर्यटकहरु पोखरा—जोमसोम हवाई मार्ग हुँदै आएका हुन भने अधिकाँश पर्यटक बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका हुन् । विगतका वर्षहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)चेक पोष्टले विदेशी पर्यटकको मात्र तथ्यांक संकलन गर्ने गरेकोमा चालु वर्षको साउनदेखि जिल्ला प्रहरी कार्यालय मुस्ताङको पहलमा प्रहरी चौकी घाँसाले डिजिटल प्रणाली मार्फत आन्तरिक तथा बाह्य पर्यटकको अभिलेख राख्न सुरु गरेको डिएसपी पाण्डेको भनाई छ ।योसेवासंगै मुस्ताङमा आन्तरिक पर्यटकको विस्तृत तथ्यांक संकलनमा समेत टेवा पुग्ने डिएसपी पाण्डेले उल्लेख गरे ।

मुस्ताङमा बर्सेनि औसत ६० हजार विदेशी र करिव ५ लाख स्वदेशी पर्यटक आउने अनुमान गरिएको छ ।सडक यातायात सहज भएसंगै पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भईरहेको बताईन्छ ।

मुस्ताङमा असोजदेखि मंसिरसम्म  र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ । योसमय पर्यटकका लागि मुस्ताङ घुम्ने अनुकुल समय हो । तर, बर्खायाममा वर्षाका कारण नदी कटान र बाढी÷पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुँने गर्दा पर्यटकको यात्रा निकै कष्ठपूर्ण हुने गर्छ ।

मुस्ताङ आएका धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन र कागबेनीमा दिवंगत पितृको नाममा श्राद्ध र तर्पण आदी दिने गर्छन । दशै—तिहार र छठ पर्वको छेकोमा भने मुस्ताङ घुम्ने युवयुवतीहरुको लर्कोनै लाग्ने गर्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकले कोरलानाका,लोमान्थाङ दरबार,ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी फर्किने गरेको पाईन्छ ।


प्रतिक्रिया