सेताम्मे हिउँमा नेपाल—चीन संयुक्त सुरक्षा गस्ती




जोमसोम— सेताम्मे हिउँमा नेपाल—चीन सीमा स्तम्भको बुधबार संयुक्त सीमा स्तम्भको सुरक्षा गस्ती गरिएको छ । सशस्त्र प्रहरीको नेचुङ स्थित बिओपी र चाईना ईमिग्रेसनका सुरक्षाकर्मीले लोमान्थाङ गाउँपालिकासंग जोडिएको २३ र २४ नंं सीमा स्तम्भको संयुक्त सीमा सुरक्षा गस्ती गरेका हुन् ।

नेपालका तर्फबाट नेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी)का  तर्फबाट सहायक प्रहरी निरीक्षक कर्णबहादुर विकको नेतृत्वमा ४ जना र चाईना ईमिग्रेसनका तर्फबाट चाईनिज पिपुल्स आर्मी पुलिसका ईन्सपेक्टर मेउ टङ्गीको नेतृत्वमा १० जनाको संयुक्त सुरक्षा टोलीले सीमा स्तम्भको गस्ती गरेको हो ।

सीमा स्तम्भको अवस्था,सुरक्षा तथा निगरानी तथा सीमा क्षेत्रमा हुनसक्ने संम्भावित अवान्छित गतिविधि नियन्त्रणका लागि नेपाल—चीन पक्षको सुरक्षा टोलीले प्रतिकुल मौसमसंगै कोरला क्षेत्रको सेताम्मे हिउँमा सीमा स्तम्भको गस्ती गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक  बिजय हमालले जानकारी दिए । एक साता अघि नेपाल—चीन संयुक्त सुरक्षाले पहिलो पटक ३३ नं. सीमा स्तम्भको गस्ती तथा अनुगमन गरेको प्रहरी नायव उपरीक्षक हमालले उल्लेख गरे ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङसंग सीमाना जोडिएका १६ वटा सीमा स्तम्भहरुको अगल÷अलग र संयुक्त सुरक्षा गस्ती गर्ने गरिएको छ । मुस्ताङमा सोमबार जारी सिजनकै पहिलो हिमपात भएको थियो । हिमपातले उपल्लो मुस्ताङ तथा नेपाल—चीन सीमा क्षेत्र पुरै हिउँले सेताम्मे  बनेको गस्तीमा खटिएका बिओपीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर विकले उल्लेख गरे । हिमपात संगै तापक्रम माईनस २० डिग्रीमा पुगेकाले सीमाक्षेत्रको जनजिवन समेत कष्ठकर रहेको उनले सुनाए । 


प्रतिक्रिया