काठमाडौं - आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले साउन ३२ गते शुक्रबार नवौं वार्षिक साधारणसभा आव्हान गरेको छ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ८ स्थित पारिजात पार्टी प्यालेस, जाल्पाचोकमा दिनको २ बजेदेखि ५ बजेसम्म साधारणसभा गर्ने निर्णय गरेको हो।
साधारणसभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने सम्बन्धी प्रस्तावमा छलफल गरी स्वीकृत गर्नेछ। यसका साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ।
यस अवसरमा, कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ४ संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समिति चयन गर्ने विशेष प्रस्तावहरू पनि साधारणसभाले पारित गर्नेछ।
साधारणसभामा कम्पनीका सम्पूर्ण शेयरधारकहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। यस कदमले कम्पनीको विस्तार र वित्तीय सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।