उत्तरी गोरखाको धार्चेमा लेदो सहितको पहिरो: पाँच जना बेपत्ता

गोरखा, - उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रसेफाँटमा शनिबार राति लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, र रमेश परियार रहेका छन्। एक जना वृद्धको पहिचान हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले जानकारी दिइन्।

उपाध्यक्ष सुनीला गुरूङका अनुसार घटनास्थल अत्यन्तै विकट ठाउँमा रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। ‘घटनास्थलसम्म पुग्न गाउँपालिकाको केन्द्रबाट दुई घन्टा लाग्छ। जिल्लाबाट सुरक्षा टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ,’ उनले भनिन्। 

पहिराले जीतबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घरलाई पुरेको छ। 'फार्मभन्दा निकै माथिबाट आएको लेदो सहितको पहिरोले ठूलो क्षति पुर्याएको छ,' उपाध्यक्ष गुरूङले भनिन्। हालसम्म पाँच जना बेपत्ता र दुई जना घाइतेको विवरण प्राप्त भएको छ। घाइतेहरूको हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको छ।

गाउँपालिकाले उद्धार र राहत कार्यमा सहयोग गर्न आह्वान गरेको छ। घटनास्थलमा उद्धार टोली सक्रिय रहेको र खोजी कार्य जारी रहेको छ। 

प्रतिक्रिया