जोमसोम—
कुनै व्यक्तिसंग पैसा छ भने उनका लागि एक स्थानबाट अर्को कुनै पनि गन्तव्य टाढा छैन । पैसा भए जुनसुकै यात्रा क्षणभरमै तय गर्न सकिन्छ ।प्रविधिको विकाससंगै प्राप्त विभिन्न सुविधाहरुले मासिनलाई अल्छी र विलासी बनाई दिएको छ । यसैले वर्तमान परिवेशका मानिसहरु पहिलेको जस्तो घण्टौं घण्टा हिडेर पैदलयात्रा गर्न चाहदैनन् । किनकी हामीसंग पैसा भए पर्याप्त सेवा सुविधा सहजै प्राप्त हुन्छ । |
तर, सोमबार मुस्ताङमा यस्ता एक कलिलो उमेरका एक युवक भेटिए,जो भारतदेखि पैदल हिडेर मुस्ताङसम्म आईपुगे । मुस्ताङमा हिमपातसंगै अत्यधिक चिसो बढेको थियो । यस्तैमा लुकलुक काँप्दै ती युवक जोमसोमको पर्यटक प्रहरीको बीटमा आईपुगे । जाडोले थर्रथरी काँपेका ती युवकलाई पर्यटक प्रहरीले हिडर ताँप्ने व्यवस्था मिलाई दियो । उनी एक घण्टासम्म त्यही हिटर ताँपेर जाडो भगाए ।
भारत र नेपालको ऐतिहाँसिक तथा धार्मिक महत्वको तीर्थ स्थल अवलोकनमा निक्लिएका ती युवाको नाम हो हरिस वैशभ ।उनी अहिले जम्मा १७ वर्ष पुग्दैछन् । भारतको मध्यप्रदेश स्थित चित्रगुठ धाम तुल्सीपीठ घर भएका उनी डेढ वर्ष अघि मात्र धार्मिक कर्ममा लाग्दै स्वामी बने । उनी भारतको मध्य प्रदेश स्थित तुल्सीपीठ नजिकको जंगलमा उनको धार्मिक कुटी निवास छ । उनी त्यही गुरुबाट सनातन धर्म सम्वन्धि आध्यामिक तथा धार्मिक शिक्षा लिईरहेका छन् ।
कक्षा ११ मा पढ्दै गरेका उनी स्कुल नगई कुटीमा बसेर आफ्नो पढाईलाई निरन्तर दिईरहेका छन् । एउटा साधारणका खालको झोला त्यसभित्र एकजोर फेर्न लुगा उनको साथमा छ । निधारमा सेतो खरानी धसेर साँधु जस्तै स्वामीको रुपमा धारणा गरेका ती युवाको अभियान र उद्देश्य हो ‘हरहर गौ सेवा,घरघर गौ सेवा’ ।सनातन धर्मको प्रतिक गाईलाई संरक्षण गर्नु घरघरमा गाई पाल्नुपर्ने उनको उद्देश्य हो ।
यही उद्देश्य र अभियान लिएर ती युवाले गरे भारत र नेपालको धार्मिक तीर्थ स्थलको पैदलै हिडेर दर्शन गर्ने । झन्डै ११ सय दिन अर्थात ३ वर्ष ५ दिनको पैदल तीथ यात्रा गर्न निस्किएका उनले यो अभियान सन् २०२३ को अप्रिल १६ देखि सुरु गरेका थिए । उनको पैदल यात्राले ७ महिना २५ दिन पुरा गरिसकेको छ ।पहिलो पटक नेपाल आएका उनी पोखराको विन्धवासिनी मन्दिर दर्शन गरी पैदल हिडेर मुस्ताङ आईपुगे । उनलाई कसैले सवारी साधनले सित्तैमा लिफ्ट दियो भनेपनि सवारीमा यात्रा गर्न मान्दैनन् । उनको धार्मिक तीथ यात्रा धार्मिक सन्देशका लागि भएको बताउँछन् । दैनिक ३० देखि ४० किलोमिटरसम्मको दुरी पैदलयात्रा गर्दैआईरहेका उनको यो अभियानको पैदल यात्रा अवधि सन् २०२६ सम्म जारी रहने छ ।
मौसमले साथ दिए दामोदरकुण्ड धार्मिक तीर्थ स्थल नभए मुक्तिनाथसम्म दर्शन गर्ने उनको योजना छ । उनी एक गन्तव्यबाट अर्को स्थानमा बास बस्दा सकभर धर्मशाला र पाटी पौवा बस्न पुग्छन् । उनी विशुद्ध शाहाकारी भएकाले खानेकुरा पनि जे पायो त्यही खादैनन् । धर्मशाला नभएको ठाउँमा बस्दा फलफुल खाएर ै जोहो गर्छन् । उनी जहाँ जहाँ जान्छन् त्यहाको धार्मिक स्थलको सम्पूर्ण जानकारी लिने गर्छन । उनले आफ्ना गतिविधि समेत यूटुव च्यानलमा अपलोड गरेका हुन्छन् ।
करिव ४ महिनादेखि निरन्तर पैदलयात्रा थालेका स्वामी हरिस वैसभ मुक्तिनाथको दर्शनपछि पशुपतीनाथको दर्शन गरी भारत फर्किने बताउँछन् । उनले नेपालबाट फर्किए लगत्तै भारतको २८ प्रान्त मध्ये २६ वटा प्रान्तमा रहेका धार्मिक स्थलको पैदलै हिडेर दर्शन गर्ने कार्यतालिका बनाईसकेका छन् । गोवा र सिक्किममा हिन्दु धार्मिक स्थल नभएकाले भारतको दुई प्रान्तमा नजाने उनले बताएका छन् ।
३ वर्ष ५ दिन धार्मिक पैदल यात्रा गर्दै १७ वर्षीय स्वामी मुस्ताङमा ।