जेनजी २.० राष्ट्रिय अभियानद्वारा शहीद स्मृतिमा मौनधारण कार्यक्रम आयोजना

काठमाडौं । जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरुको सम्झनामा मौनधारण कार्यक्रम गर्ने भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका अभियानका प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा आयोजना हुने कार्यक्रमका लागि औपचारिक निमन्त्रणा गरेका हुन्।

जेनजी २.० का युवाहरूले हाल देशभर चासो बढाइराखेका शिक्षा, स्वास्थ्य, ऊर्जा र युवा सम्बन्धी मुद्दाहरू तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारका प्रतिनिधिहरूको सहभागिता शहीदको बलिदानप्रति राज्यको सम्मानका रूपमा देखिने र युवाहरूको मनोबलमा सकारात्मक प्रभाव पर्ने अभियानको भनाइ छ।

अभियानले उक्त कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई आमन्त्रण गर्ने जनाएको छ। साथै, २३ गतेको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने र त्यसपछि मात्र २४ गतेका आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न आग्रह गरेको छ।

जेनजीका युवाहरूले अहिलेको सरकारलाई स्थिरता र परिवर्तनका लागि आफ्नो ‘मुख्य सहारा’ भएको पनि दाबी गरेका छन्।

प्रतिक्रिया