पोखराबाट मानुङकोट घुम्न निस्किएका युवामाथि तनहुँको बेलवासमा आक्रमण, पाँच जना पक्राउ

तनहुँ, पोखरा – तनहुँको पर्यटकीय स्थल मानुङकोट घुम्नका लागि गत शुक्रबार पोखराबाट निस्किएका १३ जना युवाहरु स्थानीय टोलेहरुको आक्रमणमा परेका छन्। ७ वटा मोटरसाइकलमा सबेरै पोखराबाट हिँडेका ती युवा व्यास नगरपालिका अन्तर्गत बेलवासमा पुगेका बेला टोलेहरुको समूहले आक्रमण गरेको हो।

बिहानै मादक पदार्थ सेवन गरिरहेका टोलेहरुले खुकुरी, लाठी र हेल्मेटको प्रयोग गरी युवाहरुलाई आक्रमण गरेका थिए। आक्रमणमा परी पोखरा-१५ का २७ वर्षीय विपिन गुरुङसहित दुई जना गम्भीर घाइते भएका छन् भने अन्य तीन जना सामान्य घाइते भएका छन्। गम्भीर घाइते हुनेमा विपिन गुरुङ र पोखरा-१६ का रामेश्वर धिताल रहेका छन्।

घटनामा संलग्न अपराधीहरुले युवाहरुमाथि शारीरिक आक्रमण मात्र नगरी, मोबाइल, सिक्री, औँठीसहित नगद पनि लुटपाट गरेका छन्। पीडित युवाहरुले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका छन्।

तनहुँ प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दिनेश रामदामसहित अन्य चार जनालाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ भने अन्य केही व्यक्ति अझै फरार छन्। प्रहरीका अनुसार, तनहुँका विभिन्न ठाउँमा यस प्रकारका टोले अपराधीहरुको गतिविधि अहिले पनि जारी छ, र यसलाई नियन्त्रणमा लिन थप प्रयास भइरहेको छ।

प्रतिक्रिया