यस पालिको मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा विभिन्न निकायको तयारी तथा समन्वय सम्बन्धमा प्राधिकरणका अधिकारीहरुले अलग अलग छलफल गर्नुभएको छ । त्यसक्रममा दूरसंचारसँग सम्बन्धित मन्त्रालय, दूरसंचार प्राधिकरण तथा दुई ठूला टेलिकमका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भयो । त्यसैगरि, विपद्को क्षेत्रमा क्रियाशील मानवीय संघसंस्थाका प्रतिनिधिहरुसँग पनि अलग्गै छलफल भएको छ ।
आजै यातायात तथा ढुवानी व्यवसायीहरुका केन्द्रीय महासंघहरुका पदाधिकारीहरुसँग भएको छलफलपश्चात विभिन्न निर्णय भएको छ । जसमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र ढुवानी व्यवसायी महासंघ, नेपालका पदाधिकारीले ७७ वटै जिल्लामा आ-आफ्नो संजालमार्फत् सहकार्य, सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरि, सडक अवरुद्ध भएको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संचार तथा सूचना प्रविधि मन्त्रालय, सडक विभाग र ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी सम्बन्धित सरोकारवालाहरुलाई एसएमएस लगायतका माध्यममार्फत् जानकारी गराउने पनि समझदारी भएको छ ।
प्राधिकरणको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यकारी समितिको बैठकबाट पारित हुने प्रक्रियामा छ । यस सम्बन्धमा जेठ १४ गते माननीय उपप्रधान मन्त्री एवं गृह मन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा अन्तरक्रिया समेत भएको छ ।