प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने




काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।


संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।


यसपटक ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्। संसद्मा प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने प्रश्नोत्तर कार्यक्रममा भारतसँगको सीमा विवाद, सुशासन, आर्थिक अवस्था तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम प्रमुख विषय बन्ने देखिएको छ।


लामो समयदेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग हुँदै आएपछि गत १ गते सभामुख डोलप्रसाद अर्यालले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ गरेका थिए। सोही रुलिङअनुसार प्रधानमन्त्री शाह आज सांसदका प्रश्नको सामना गर्न लागेका हुन्।


दलीय प्रतिनिधित्व र उपलब्ध समयका आधारमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, बासना थापा, गीता गुरुङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओली गरी ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।


प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग राष्ट्रियता, सुशासन र सरकारको कार्यसम्पादनसँग सम्बन्धित विषयमा जवाफ मागेका छन्। एमाले सांसद गणेशसिंह ठगुन्नाले सुदूरपश्चिमसँग जोडिएका सीमा समस्या, सुस्ता तथा कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ताका लागि सरकारले गरिरहेको कूटनीतिक पहललगायत विषयमा प्रश्न गर्ने तयारी गरेका छन्।


त्यस्तै, एमालेका प्रमुख सचेतक ऐन महरसहितका सांसदहरूले देशको आर्थिक अवस्था, सुशासन तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे सरकारको आधिकारिक धारणा माग गरेका छन्।


मुख्य प्रश्नपछि सांसदहरूले तत्कालै पूरक प्रश्नसमेत सोध्न पाउने भएकाले आजको प्रश्नोत्तर कार्यक्रमलाई प्रधानमन्त्री शाहका लागि महत्वपूर्ण राजनीतिक तथा संसदीय परीक्षाका रूपमा हेरिएको छ।


यता, प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्यसम्बन्धी रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ। सभामुख अर्यालले संसद्मा कालो चस्मा लगाउन स्वास्थ्य परीक्षणको रिपोर्ट आवश्यक पर्ने भन्दै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकमामार्फत सांसदहरूलाई जानकारी गराएका थिए।


प्रधानमन्त्री शाहले गत साउन २२ गते छाउनी अस्पतालमा आँखाको परीक्षण गराएका थिए। अस्पतालको परीक्षण प्रतिवेदनअनुसार खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या देखिएकाले उनलाई कालो चस्मा प्रयोग गर्नुपर्ने सुझाव दिइएको बताइएको छ।


आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिँदा सीमा विवाद, सुशासन, अर्थतन्त्र र समसामयिक राजनीतिबारे सरकारको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया