काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको औपचारिक भ्रमण (साउन २०–२३)बाट फर्किएको पाँच दिनपछि बुधबार प्रतिनिधिसभामा एक घण्टा तीन मिनेटको सम्बोधन गर्दै सरकारका १८ महिने उपलब्धिहरू प्रस्तुत गरे र प्रतिपक्षी दलहरूलाई तीव्र आलोचना गरे।
ओलीले गत वर्षभित्र तीन दर्जनभन्दा बढी ऐन संशोधन भएको उल्लेख गर्दै यसले सुशासन प्रवर्द्धन, सेवा प्रवाह सरल, लगानीमैत्री वातावरण निर्माण र वैदेशिक लगानी आकर्षणमा ठूलो योगदान दिएको दाबी गरे। उनका अनुसार अर्थतन्त्र ४ खर्ब रुपैयाँले बिस्तार भएको र आर्थिक वृद्धिदर ३.७ प्रतिशतबाट ४.६ प्रतिशतमा पुगेको छ। बाढी, पहिरो र खडेरीजस्ता प्राकृतिक विपत्तिका बीचमा पनि यो उपलब्धि हासिल भएको उनको भनाइ थियो।
रास्वपा प्रति कडा प्रहार
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संसदलाई ‘सोसल मिडिया कन्टेन्ट’ उत्पादन गर्ने थलो बनाएको आरोप लगाए। सहकारी घोटालामा पार्टी सभापति रवि लामिछानेलाई मात्र राजनीतिक प्रतिशोधको नाम दिने तर अन्य थुनामा रहेका अभियुक्तबारे मौन बस्ने प्रवृत्तिलाई उनले दोहोरो मापदण्डको उदाहरण भने।
भिजिट भिसा प्रकरणबारे ओलीले यसलाई भावनात्मक ब्ल्याकमेलिङका लागि प्रयोग गरिएको आरोप लगाए। उनले विदेशमा भिजिट भिसामा गएर नागरिकता लिने, त्याग नगरी नेपाल फर्केर मन्त्रीसम्म बनेका र विदेशमा विवाह गरेका व्यक्तिहरूले समेत यो मुद्दा चर्काएको बताए।
प्रचण्डलाई प्रश्न
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै ओलीले सरकार ढल्ने हल्ला पिटेर अस्थिरताको पक्षपोषण किन गरिँदैछ भनी प्रश्न गरे। उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता समीकरण ०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरे।
कीर्तिपुर क्रिकेट रंगशालाबारे प्रचण्डको प्रश्नको जवाफ दिँदै ओलीले प्याराफिट निर्माण पूरा भएको र फ्लडलाइट जडान अन्तिम चरणमा पुगेको जानकारी दिए।
राष्ट्रिय लक्ष्यतर्फ प्रतिवद्धता
सम्बोधनको अन्त्यमा ओलीले आफ्नो सरकार ‘नयाँ निर्माण’ नभई ‘भत्किएको टालटुल र पुनर्निर्माण’को काममा रहेको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिलतर्फ अग्रसर रहेको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार