सिन्धुलीमा ६ महिनामा ५५ लाखभन्दा बढी राजस्व संकलन, जीप/कार सबैभन्दा बढी कारबाहीमा

सिन्धुली, फागुन ९ - जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ५५ लाख ५७ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार ३९८ सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो।

ट्राफिक प्रहरीद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार, सबैभन्दा बढी जीप/कार कारबाहीमा परेका छन्। ती सवारीसाधनहरूबाट २० लाख ८ हजार ५०९ रुपैयाँ राजस्व संकलन गरिएको छ। त्यस्तै, ट्रक, बस, ट्र्याक्टर, मोटरसाइकल र अटोबाट बाँकी राजस्व संकलन गरिएको छ। सबैभन्दा कम राजस्व अटोबाट संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

यसअघि नगद लिने प्रचलन रहेकोमा प्रविधिको विकाससँगै ट्राफिक प्रहरीले फोनपेमार्फत जरिवाना रकम असुल गर्न थालेको छ। डिजिटल भुक्तानी प्रणालीमा जानुपर्दा अपेक्षाभन्दा कम राजस्व संकलन भएको प्रहरीको भनाइ छ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो छ महिनामा संकलन भएको राजस्व न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ।

यस वर्षदेखि नगद भुक्तानीको सट्टा इसेवा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। इसेवा प्रयोग नगर्ने व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत जरिवाना रकम तिर्नुपर्ने नियम लागु गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीहरूले पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र तेस्रो पटक १,५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेहरूमध्ये धेरैजसो सरकारी कर्मचारी र भिआइपीहरू रहेको बताएका छन्। जानाजानी नियम उल्लङ्घन गर्नेहरूलाई सम्झाउन गाह्रो हुने र कतिपय अवस्थामा ट्राफिक प्रहरी धम्कीको समेत सिकार हुने गरेको जनाइएको छ।

प्रतिक्रिया