पोखरा पर्यटन प्रवर्द्धनमा नेपाल–बङ्गलादेश सहकार्य आवश्यक : नगर प्रमुख आचार्य





पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन प्रवर्द्धनका लागि नेपाल र बङ्गलादेशबीच थप सहकार्य आवश्यक रहेको बताउनुभएको छ।


बङ्गलादेश फोटो पत्रकार संघका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको फोटो पत्रकारहरूको टोलीसँगको भेटमा नगर प्रमुख आचार्यले पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, साहसिक पर्यटन तथा पर्यटकीय सम्भावनालाई बङ्गलादेशमा प्रचार गर्न आग्रह गर्नुभयो।


उहाँले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार महत्वपूर्ण रहेको उल्लेख गर्दै बङ्गलादेशबाट पोखरासम्म प्रत्यक्ष हवाई उडानका लागि आवश्यक पहल र सहकार्य गर्न आग्रह गर्नुभयो।


भेटका क्रममा बङ्गलादेशी फोटो पत्रकारहरूले पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यताबाट आफूहरू प्रभावित भएको बताएका थिए। उनीहरूले पोखरामा खिचिएका तस्बिर तथा दृश्य सामग्रीलाई बङ्गलादेशका सञ्चारमाध्यम र डिजिटल प्लेटफर्ममार्फत प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


नेपाल र बङ्गलादेशबीच पर्यटन तथा सञ्चार क्षेत्रको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पोखराका पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारमार्फत बङ्गलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया