कांग्रेस संसदीय दलको बैठक : जनताका मुद्दा उठाउन र सरकारलाई निरन्तरता दिन छलफल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार सम्पन्न भएको छ। बैठकमा आगामी संसद् अधिवेशनमा कांग्रेस एकजुट भएर जनताका मुद्दा उठाउने र सरकारलाई २०८४ सम्म निरन्तरता दिने विषयमा छलफल भएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठनपछि भएका राम्रा कामहरूको समीक्षा गरिएको जानकारी दिए। उनले भने, "आर्थिक अवस्थाको सुदृढिकरण, राजनीतिक स्थिरता र सरकारको उपलब्धिहरूको समिक्षा गरिएको छ। तीन महिनामा विश्वासको मत लिने पद्धति अन्त्य हुँदा उत्साहजनक वातावरण बनेको छ।"

बैठकले जनताका सरोकारका विषयमा एकजुट भएर संसद्मा आवाज उठाउने निष्कर्ष निकालेको छ। साथै, प्रारम्भिक छलफलको क्रममा सरकारलाई २०८४ सम्म निरन्तरता दिनका लागि सहमति जुटाउने प्रयासका विषयमा पनि ध्यान केन्द्रित गरिएको खतिवडाले बताए।

कांग्रेसको यो रणनीतिले सरकारलाई बलियो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। संसद्को आगामी अधिवेशनमा कांग्रेसले के कस्तो भूमिका खेल्ने हो भन्ने विषयले थप चासो र ध्यान तान्ने देखिन्छ।

प्रतिक्रिया