सांसद एकनाथ ढकाल र माल्दिभ्सका सभामुखबीच शिष्टाचार भेट

काठमाडौं, फागुन १६ – प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।


माल्दिभ्सको संसद भवनमा सम्पन्न भेटवार्तामा द्विपक्षीय हित, संसदीय आदानप्रदानको अभिवृद्धि तथा क्षेत्रीय तहमा सहकार्यलाई अझै बलियो बनाउने विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ।


भेटका अवसरमा सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट माल्दिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सार्क क्षेत्रका सभामुख तथा सांसदहरूबीच संवाद र सहकार्यलाई सशक्त बनाउनुपर्नेमा विशेष जोड दिनुभयो।


सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाउनुभएको छ।


पूर्वमन्त्रीसमेत रहनुभएका सांसद ढकाल माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणमा रहनुभएको छ। उहाँ नेपाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य हुनुहुन्छ।


नेपाल र माल्दिभ्सबीच सन् १९८० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता, दुई देशबीच पर्यटन, व्यापार तथा बहुपक्षीय मञ्चमा सहकार्यका क्षेत्रमा सहअस्तित्व कायम रहँदै आएको छ।

प्रतिक्रिया