अमेरिकाको गोप्य सैन्य कारबाही : इरानमाथि ‘अपरेसन मिडनाइट ह्यामर’



 Aama Darshan News – काठमाडौं, २०८२ असार ९ गते


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानको आणविक पूर्वाधारमाथि लक्षित गरी ‘अपरेसन मिडनाइट ह्यामर’ नामक एक अत्यन्त गोप्य र शक्तिशाली हमला गरिएको खुलासा भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार उक्त कारबाही अमेरिकाको रणनीतिक बमवर्षक विमान र नौसैनिक शक्तिको प्रयोगमार्फत गरिएको थियो।


पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सेनाका उच्च अधिकारी जनरल ड्यान केनले कारबाहीको विस्तृत जानकारी दिएका छन्। उनका अनुसार अमेरिकाको मिजौरीस्थित ह्वाइटम्यान एयर फोर्स बेसबाट उडेका सात बी–२ स्टेल्थ बमवर्षक विमानहरूले इरानको फोर्डो, नटान्ज र इस्फाहानस्थित आणविक संरचनालाई लक्षित गरेका थिए।


यी विमानहरूले ‘जीबीयू–५७ बंकर बस्टर’ नामक गहिरा बमहरू खसालेका थिए, जसले १८ मिटर गहिरो कंक्रिट वा ६१ मिटर माटो छेड्न सक्छ। हमलाका क्रममा अमेरिका पक्षले प्रशान्त महासागरतर्फ विमानहरू पठाइरहेको झूटो संकेत दिँदै इरानलाई झुक्याएको थियो।


अमेरिकी सेनाका अनुसार हमलाका लागि कुल १२५ विमान प्रयोग गरिएका थिए भने ७५ सटिक हतियार प्रयोग गरिएको थियो। यस हमला करिब २५ मिनेटमा सम्पन्न गरिएको थियो। इस्फाहान क्षेत्रमा भने अमेरिकी पनडुब्बीबाट प्रक्षेपित टोमाहक क्रुज मिसाइलहरू प्रयोग गरिएका थिए।


अमेरिकाले इरानको आणविक कार्यक्रमलाई गम्भीर रूपमा ध्वस्त पारेको दाबी गरेको छ। यद्यपि इरानले भने यो हमलाबाट खासै क्षति नभएको प्रतिक्रिया दिएको छ। घटनापछि विश्वका शक्तिशाली राष्ट्रहरूबाट विभिन्न खाले टिप्पणीहरू आउन थालेका छन्।


न्यू अमेरिकन सेक्युरिटीका रक्षा विश्लेषक डा. स्टेसी पेटीजनले भने, “यो हमला इरानको आणविक महत्वाकांक्षालाई तत्काल रोक्न सकिए पनि दीर्घकालीन प्रभावका विषयमा अझै अनिश्चितता छ।”


यस घटनासँगै मध्यपूर्वमा तनाव पुनः चुलिएको देखिन्छ। अबको अन्तर्राष्ट्रिय कूटनीतिक प्रतिक्रिया र क्षेत्रीय सुरक्षा परिदृश्य कस्तो रहनेछ भन्ने चासो बढेको छ।


प्रतिक्रिया