नागरिक जाडो छल्न बेसी झरेपछि सुनसान मुस्ताङ
जोमसोम—अत्यधिक चिसो बढेसंगै उपल्लो मुस्ताङका अधिकाँश नागरिक अहिले बेसी झरिसकेका छन् । हिमपात र चिसोबाट जोगिन उपल्लो मुस्ताङका ८० प्रतिशत नागरिक बेसी झरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।जाडो छल्न बेसी नझरिकन गावैमा घर र पशुचौपया रेखदेखमा बसेका मध्ये अधिकाँश ज्येष्ठ नागरिक र गोठालाहरु मात्र रहेको प्रजिअ पन्तको भनाई । विगतका वर्षहरुमा मंसिर अगावै झर्ने उपल्लो मुस्ताङीहरु यसपटक भने कोरलानाका खुलेकाले केही ढिलो गरी बेसी झरेका हुन् । अहिले चिसो र हिमपातको जोखिमका कारण धेरैजसो नागरिकले घरमा ताल्चा मारेर जाडो छल्न बेसी झरिसकेको लोमान्थाङ—५ का वडाध्यक्ष ढुक्के बिष्टले जानकारी दिए ।
उपल्लो मुस्ताङमा सीमा सुरक्षाका लागि बसेका सशस्त्र प्रहरीको बीओपी र र प्रहरी ईकाई साविककै कार्यस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । अत्यधिक चिसो र हिमपातबाट जोगिन नागरिक बेसी झरिसकेकाले उपल्लो मुस्ताङमा अहिले गुमनाम जस्तै बनेको छ । पर्यटकीय सिजनमा निकै चहलपहल हुने लोमान्थाङ बजारमा समेत डेढ दर्जन होटल मध्ये २÷३ वटा मात्र संञ्चालनमा रहेको प्रजिअ पन्तले उल्लेख गरे । चिसोकै कारण संघ तथा प्रदेश र स्थानीय तहका संम्पूर्ण विकास निर्माणका कामहरु ठप्पै भएको प्रजिअ पन्तले जनाए ।
यसैगरी चिसोका कारण उपल्लो मुस्ताङ मात्र होईन तल्लो मुस्ताङका पनि एक तिहाई नागरिक बेसी झरिसकेका छन् । तल्लो मुस्ताङमा पर्यटनकर्मी बेसी झरिसकेका छन् । स्याउ बगैचा व्यवस्थापनका लागि स्थानीय कृषकहरु पनि यथास्थानमा बसेका छन् । अहिले उपल्लो मुस्ताङमा माईनस २० डिग्री र तल्लो मुस्ताङमा माईनस ८ डिग्री तापक्रममा झरेको छ ।
अत्यधिक चिसोका उपल्लो मुस्ताङमा मुख्य र शाखा नदीहरु पुरै बरम बनेर जमिसकेको छ । घरका धारा,पोखरी र सिंचाई कुलो समेत चिसोले जमिसकेकाले त्यहाँ बस्ने नागरिकको दैनिकी निकै कष्टकर छ । बिहान÷बेलुकीपख पशुचौपायाको आहार खुवाउन र मानिसलाई शौचालय प्रयोग गर्न समेत समस्या हुँने गरेको ठिङ्गरका स्थानीय कर्मासम्टुक गुरुङले जानकारी दिए । उनले चिसोले सडकमा पानी जमेर यातायातका साधन आउजाउ गर्न समेत निकै समस्या हुँने गरेको उनले बताए ।