पचली भैरव रथ जात्रा भव्य रूपमा सम्पन्न

काठमाडौं, चैत्र ४ — घोडेजात्रा को अवसरमा नागार्जुन नगरपालिका–६, ईचाडोलस्थित श्री पचली भैरव मन्दिर मा पचली भैरवको रथ जात्रा भव्य रूपमा सम्पन्न भएको छ।

भैरव भगवान शिव को रौद्र तथा तान्त्रिक रूप मानिन्छन्। शक्तिको आराधनासँग जोडिएको भैरव पूजा विशेष महत्व राख्ने भएकाले यस अवसरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।


श्री पचली भैरव मन्दिर तथा सामुदायिक भवन व्यवस्थापन समितिको आयोजनामा सम्पन्न जात्रामा स्थानीय गुठी, नेवाः समुदाय तथा विभिन्न बाजा खलःहरूको सक्रिय सहभागिता रहेको थियो। गत वर्ष सञ्चालन गरिएको धिमे बाजा तालिमबाट प्रशिक्षित “श्री पचली भैरव धिमे बाजा खलः” ले जात्रामा सांगीतिक प्रस्तुति दिँदै माहोललाई थप उल्लासमय बनाएको थियो।


व्यवस्थापक धनबहादुर श्रेष्ठका अनुसार ईचाडोल, डाडाँपौवा तथा टौखेल क्षेत्रका स्थानीयवासीको उत्साहजनक सहभागिताले जात्रालाई थप भव्य बनाएको हो। साथै “फेय् ख्वाः बाजाँ खलः” को पनि सहभागिता रहेको थियो।


समितिका अध्यक्ष केशव श्रेष्ठले पचली भैरव मन्दिरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि निरन्तर रूपमा रथ जात्रा आयोजना गर्दै आएको जानकारी दिए। ऐतिहासिक रूपमा यो जात्रा बीचमा रोकिने र पुनः सञ्चालन हुने क्रम रहे पनि पछिल्ला वर्षहरूमा नियमित रूपमा मनाइँदै आएको छ।


काठमाडौं उपत्यकाको पश्चिम क्षेत्रमा पर्ने पचली भैरवसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थलहरूमा भैरव टोलस्थित कोटेश्वर भैरव, टौखेलको लाखेचौर, हल्चोकको आकाश भैरव तथा रानीवन क्षेत्रका भैरव मन्दिरहरू रहेका छन्।


स्थानीय नेवाः समुदायले पचली भैरवलाई केन्द्रमा राख्दै सांस्कृतिक संरक्षणका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्, जसले परम्परागत संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया