काठमाडौं । माछापुच्छ्रे बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब १० करोड २६ लाख रुपैयाँको तुलनामा ५५ करोड ६० लाख रुपैयाँ अर्थात् ५०.४२ प्रतिशतले बढी हो।
बैंकको सञ्चालन नाफा ७९ करोड ४३ लाख रुपैयाँले बढेर २ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ पुगेपछि समग्र खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो। निष्क्रिय कर्जा घटाउने र गैरब्याज आम्दानी बढाउने रणनीतिले बैंकलाई नाफा वृद्धि गर्न सहयोग गरेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड ७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ पुगेको छ। ‘फि एन्ड कमिसन’ आम्दानीमा भने २८ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ, जुन ९४ करोड ५८ लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा व्यवस्थापनमा सुधार आउँदा इम्पेयरमेन्ट चार्ज ७१ करोड ५६ लाख रुपैयाँबाट घटेर ६७ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। निष्क्रिय कर्जा ४.५९ प्रतिशतबाट घटेर ४.०१ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा १.२२ प्रतिशतमा कायम छ। प्रोभिजन कभरेज १००.२१ प्रतिशत पुगेको छ, जुन जोखिम व्यवस्थापनका दृष्टिले सन्तोषजनक मानिन्छ।
निक्षेप संकलन १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँबाट बढेर २ खर्ब १३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
ब्याजदर घटेसँगै बैंकको आधार दर ९.१४ प्रतिशतबाट घटेर ६.५२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.८७ प्रतिशतबाट घटेर ३.५३ प्रतिशतमा कायम भएको छ।
नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) १२.१६ रुपैयाँबाट बढेर १८.३० रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १५४.२७ रुपैयाँ, पीई रेसियो १६.२९ गुणा र स्वपुँजीमा प्रतिफल १०.९० प्रतिशत रहेको छ।
बैंकको पुँजीकोष अनुपात १३.४० प्रतिशत रहेको छ भने प्राथमिक पुँजी अनुपात ८.८० प्रतिशतबाट बढेर १०.१७ प्रतिशत पुगेको छ। सीडी रेसियो ७७.६७ प्रतिशत रहेकोले बैंकसँग लगानीका लागि पर्याप्त तरलता रहेको देखिन्छ।
बैंकले ९ महिनामा ७६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। हाल बैंकको चुक्तापुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क