मनसुन कोशी प्रदेश छाडेर पूर्वी एसिया फर्कियो, नेपालभर चर्को गर्मी र खडेरीको खतरा
कोशी प्रदेश, नेपालमा यस वर्षको मनसुन सामान्यभन्दा १५ दिनअघि नै यही जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। तर, पूर्वी एसिया क्षेत्रमा बनेको शक्तिशाली न्यूनचापीय क्षेत्रका कारण मनसुनी वायु फेरि कोशी प्रदेशबाट पूर्वतिर तानिँदै फर्किएको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया — विशेषगरी फिलिपिन्स तिर सोहोरिएर गएको छ। त्यसैले कोशीबाट अन्यत्र फैलिन पाएको छैन। अझै केही दिनसम्म नेपालभर मनसुन व्यापक रूपमा फैलिने सम्भावना कम छ।”
मनसुन प्रवेशसँगै जेठ १७ गते पूर्वी नेपालमा भारी वर्षा हुँदा धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको करिब १०० मिटर सडक बाढीले बगायो। झापामा माइखोलाको बाढीले २२ घर डुबानमा परे। त्यसयता भने नेपालमा वर्षा रोकिएको छ।
हाल देशभर चर्को गर्मी महसुस भइरहेको छ। मौसमविद् झाका अनुसार बङ्गालको खाडीबाट आउने मनसुनी वायु कमजोर भएकाले पश्चिम र मध्यक्षेत्रमा अहिले स्थानीय र पश्चिमी वायु नै सक्रिय छन्। यसरी मनसुन ‘ब्रेक’ हुँदा कतै भारी वर्षा त कतै खडेरीसमेत निम्त्याउन सक्ने खतरा देखिएको छ।
तर, भोलिदेखि फेरि मौसम बदलीको संकेत देखिएको मौसमविद् झाले जानकारी दिए। उनले भने, “बङ्गालको खाडीमा अर्को न्यूनचापीय प्रणाली बनेको छ र भारतको मध्य भूभागमा पनि न्यूनचापीय क्षेत्र विस्तार भइरहेको छ। यसको असर नेपालमा समेत देखिनेछ र वर्षा गराउने सम्भावना छ।”
यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्ष अत्यधिक वर्षा र तापक्रम हुने अनुमान गरिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई तत्काल राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी भइरहेको जानकारी दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता