काठमाडौँमा म:म पसलहरुको अनुगमन, ८८% मा सरसफाइको समस्या
२२ मङ्सिर २०८१, शनिवार ०८:२१ मा प्रकाशित
सन्चारकर्मी सुर्य राय
काठमाडौँ, – काठमाडौँ महानगरपालिकाले सञ्चालनमा रहेका म:म पसलहरुको अनुगमन गर्दै ८५ वटा होटल र रेष्टुरेन्टको निरीक्षण गरेको छ, जसमा ७५ वटा (८८.२४%) मा सरसफाइको गम्भीर समस्या देखिएको छ। अनुगमनमा सहभागी फुड टेक्नोलोजिष्ट र माइक्रोबायोलोजिष्टहरुको टोलीले भान्छा, कार्यस्थल र व्यक्तिगत सरसफाइमा कमजोरी पाएको बताएको छ।
अनुगमन प्रतिवेदन अनुसार, ६६ वटा (७७.६५%) पसलमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी देखिएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम उत्पन्न गर्ने आशंका व्यक्त गरेको छ। यसका साथै, १८ वटा (२१.१८%) पसल व्यवसाय दर्ता नगरेको पनि पाइएको छ, जसले कानूनी प्रक्रिया र स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेको जनाउँछ।
महानगरपालिकाले पसलका सञ्चालकलाई सुधारात्मक कदम चाल्न र सरसफाइ मापदण्डहरुलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ। यदि समयमै सुधार नगरेमा सम्बन्धित व्यवसायविरुद्ध कडा कारवाही गर्ने चेतावनी दिइएको छ।
यस अनुगमनले म:म पसलहरुको सरसफाइमा सुधार ल्याउन र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता उजागर गरेको छ