राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कको बचाउ, डेमोक्र्याट्सको आरोप अस्वीकार

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कविरुद्ध डेमोक्र्याटिक पार्टीले लगाएको आरोपको खण्डन गरेका छन्। ट्रम्पले मस्कले सरकारी खर्चमा मितव्ययिता अपनाउन भूमिका खेलिरहेको भन्दै उनको कुनै स्वार्थी उद्देश्य नभएको स्पष्ट पारेका हुन्।


डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले ल्याएका केही नीतिगत परिवर्तनहरूबाट मस्कलाई व्यक्तिगत फाइदा पुग्ने आरोप लगाएको थियो। तर, राष्ट्रपति ट्रम्पले मस्कको बचाउ गर्दै भने, “उनी यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यस्तो कामका लागि समय कसरी निकाल्छन् भन्ने नै मलाई अचम्म लाग्छ।”


राष्ट्रपति ट्रम्पका अनुसार मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गरिरहेको छ। उनले उक्त अनुसन्धान २४ घण्टाभित्र सम्पन्न हुन सक्ने सम्भावना रहेको बताए।


राष्ट्रपति ट्रम्पले अमेरिकी सेनामा भइरहेको अर्बौं डलरको भ्रष्टाचारको पर्दाफास गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “जनताले मलाई त्यसैका लागि जिताएका हुन्।” उनका अनुसार सरकारको अनावश्यक खर्च रोक्न मस्कको टोली सक्रिय रूपमा कार्यरत छ।

प्रतिक्रिया