जोमसोम— हिमाली जिल्ला मुस्ताङ र म्याग्दीको प्रवेश मार्ग थासाङ गाउँपालिका—४ घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटक प्रवेश ईपि काउन्टर स्थापना गरेको छ । मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई ईपि काउन्टर स्थापनाले निकै सहज तुल्याउने जनाईएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकहरुले यसअघि काठमान्डौंको भृकुटी मण्डप,लमजुङको बेसी सहर र एक्यापको प्रधान कार्यायल पोखरा ड्याप साईडको ईपि काउन्टरबाट प्रवेश अनुमति लिनु पथ्र्यो ।यो सूचना एक्यापको आधिकारिक वेवसाईड तथा पर्यटन व्यवसायी र ट्राभल एजेन्सीलाई पनि जानकारी गराईएको छ । तर, पर्यटक प्रवेश शुल्क बुझाउनु पर्ने स्थानबाट सम्वन्धि केही ट्राभल एजेन्सी र पर्यटन व्यवसायीले आर्थिक लाभ लिने मनसायले गर्दा तोकिएका ईपि काउन्टरबाट प्रवेश अनुमती लिनेकार्यमा वेवास्ता हुँदैआइरहेको थियो । जसका कारण मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकले मुस्ताङको घाँसा चेक पोष्टमा दोब्बर प्रवेश शुल्क तिर्नुपर्ने बाध्यता थियो । एक्यापले धार्मिक तथा पर्यटक जिल्ल मुस्ताङ प्रवेश गर्न पर्यटक सुविधाका लागि मुस्ताङमा पर्यटक ईपि काउन्टर राख्नुपर्ने आवाज पहिल्यै मुस्ताङका स्थानीय पर्यटन व्यवसायले उठाउँदै आईरहेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले हालै मुस्ताङको घाँसा एक्याप चेक पोष्टमा पर्यटक प्रवेश ईपि काउन्टर स्थापना गरेसंगै मुस्ताङ प्रवेशका लागि अनुमती लिन छुटेका पर्यटकलाई दोब्बर जरिवाना तिर्नु पर्ने समस्याको अन्त्य भएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।उनका अनुसार अब मुस्ताङ प्रवेश गर्ने विदेशी पर्यटकले काठमान्डौं,लमजुङ र पोखराका ईपि काउन्टरबाट प्रवेश अनुमती पत्र लिन छुटेपनि बिना जरिवाना मुस्ताङबाटै प्रवेश अनुमती पत्र लिनसक्ने व्यवस्था गरिएको हो । यसअघि मुस्ताङमा ईपि काउन्टर स्थापना नहुँदा सार्क राष्ट्रका पर्यटकले एक हजारको बदलामा दुई हजार र फरेनर तेश्रो राष्ट्रका विदेशी पर्यटकले तीन हजारको बदलामा छ हजार शुल्क तिर्नुपर्ने बाध्यता थियो । मुस्ताङ प्रवेश गर्न कुनै विदेशी पर्यटकले चाहेमा सिधै एक्यापको घाँसा ईपि काउन्टरबाट प्रवेश अनुमती पत्र लिन सक्नेछन् । एक्यापले उठाउने गरेको पर्यटन शुल्क वापतको रकम सिधै एनटीएनसीको कोषमा दाखिला हुन्छ । मुस्ताङ प्रवेश गर्ने पर्यटक रोयल्टीबाट झन्डै १३ करोड रकम संकलन हुने गर्छ ।
पर्यटक अभिलेख डिजिटल प्रणालीमा ः
मुस्ताङ प्रवेश गर्न विदेशी पर्यटकको तथ्यांक अभिलेख डिजिटल प्रणालीमा रुपान्तरण गरिएको छ । पर्यटकका लागि छिटो छरितो र भरपर्दो सुविधा तथा आर्थिक पारदर्शीता कायम गराउन यसै सातादेखि मुस्ताङको घाँसा स्थित एक्याप चेक पोष्टमा ई.डिजिटल प्रणालीबाट ईन्ट्री गर्ने व्यवस्था मिलाईएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमा्ेदराज रेग्मीले जानकारी दिए । यसअघि परम्परागत पद्धतीबाट पर्यटकको अभिलेख राख्ने गरिएकोमा डिजिटल प्रणाली कार्यान्वयनमा आएसंगै पर्यटकलाई घण्टौंसम्म पर्खनु पर्ने बाध्यता हटेको कार्यालय प्रमुख रेग्मीको भनाई छ । यो प्रणाली अन्तर्गत मुस्ताङ प्रवेश गर्ने पर्यटकको राहदानी (पासपोर्ट ) मोवाईल मार्फत क्यूआर कोर्ड सर्च गरेपछि संम्पूर्ण डिटेल खुल्छ । उक्त पर्यटकको डिटेल एक्यापको सफ्टवेयरबाट कम्प्युटरमा दर्ता हुन्छ ।
यसअघि मुस्ताङ प्रवेश गर्ने विदेशी पर्यटकको टोलीले एकमुष्ट चेक पोष्टमा ईन्ट्रि गर्दा कर्मचारी तथा ट्राभल्स ईजेन्सीको बदमासीले अनियमिता हुने गथ्र्यो । यसरी ईन्ट्री पारदर्शी नहुँदा विगतमा कतिपय विदेशी बिना परमिट आउँदा समस्या उत्पन्न हुने गरेको थियो ।एक्यापले यो प्रक्रियालाई पनि पछिल्लो समय सुधार गरेको छ । एक्यापले हरेक पर्यटकलाई एकमुष्ट नगरी संख्या रुपमा पालैपालो एक÷एक गरी ईन्ट्रि गर्ने व्यवस्था मिलाएको एक्याप जोमसोमले बताएको छ । यसलाई पर्यटकलाई हुने अनावश्यक झमेला हटाउने र इन्ट्री अभिलेखमा समेत पारदर्शीता ल्याउने एक्यापको बुझाई छ ।
मुस्ताङको घाँसामा पर्यटक सूचना बोर्ड स्थापना ः
म्याग्दी र मुस्ताङको प्रवेशद्धार घाँसामा पर्यटक लक्षित सूचना बोड स्थापना गरिएको छ । एक्याप जोमसोम र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्व जानकारी गराउने उद्देश्यले पर्यटक सूचना बोर्ड स्थापना गरिएको हो । सो सूचनामा संरक्षण क्षेत्र तथा निषेधित क्षेत्रमा प्रवेश गर्नु पूर्व अनिवार्य प्रवेश अनुमती लिनुपर्ने जानकारी गराईएको छ ।संरक्षण तथा निषेधित क्षेत्रमा हेलिकोप्टर उडान÷अवतरण,फिल्म तथा डकुमेन्ट्री खिच्न र ड्रोन उडाउन गर्न पूर्व अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
संरक्षण तथा निषेधित क्षेत्र मुस्ताङमा हेलिकोप्टर उडानका लागि गृह मन्त्रालयको अनुमती लिनुपर्ने हुन्छ भने मानवरहित ड्रोन क्यामेरा प्रयोग गर्न नेपाल नागरिक उड्यन प्राधिकरणको अनुमतीपत्र लिनुपर्ने हुन्छ । मुस्ताङमा प्रहरीले यसअघि आन्तरिक तथा वाह्य पर्यटकले बिना अनुमती प्रयोग गरेका दर्जनौ ड्रोन जफत गरी नागरिक उडयन कार्यालय जोमसोममा बुझाएको थियो ।
यसैगरी पर्यटक लक्षित सूचना बोर्डमा मुस्ताङ प्रवेश गर्न आन्तरिक तथा बाह्य पर्यटकले बिना अनुमती जथाभावी संञ्चार उपकरण वाकीटकी र धातु पत्ता लगाउने मेडल डिडेक्टर प्रयोग गर्न नपाईने उल्लेख गरिएको छ । सार्वजनिक जग्गाको अतिक्रमण,प्राकृतिक श्रोत साधन ,वन्यजन्तुको अवैध संकलन, चोरी शिकारी, ओसार पोसार निकाशी तथा बेचबिखन नगर्न सूचित गरिएको छ ।