नुवाकोट, नुवाकोटको श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेला २०८१ बाट भक्तजनहरूले चढाएको भेटीको गणना सम्पन्न भएको छ। यस वर्ष मेलाबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) को भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक शंकरबहादुर थापाका अनुसार भेटी गणनाको कार्य समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको हो। भेटीको हिसाब-किताबलाई पारदर्शी बनाउन सरोकारवालाहरूको उपस्थितिमा गणना गरिएको छ।
कोषका अनुसार मेलामा संकलित भेटीको हिसाब-प्रक्रिया पारदर्शी बनाउन विशेष निगरानीका साथ सम्पन्न भएको थियो। मेलाको सम्पूर्ण खर्च विवरण भने भोलि पुष २ गते सार्वजनिक गरिने कोषले जनाएको छ।
यस वर्षको धान्य पूर्णिमा मेला सफलतापूर्वक सम्पन्न भएको र भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको पनि कोषले जनाएको छ। मेला व्यवस्थापन, धार्मिक कार्यक्रम र सांस्कृतिक गतिविधिहरूले मेलाको विशेष आकर्षण बढाएको थियो।
दुप्चेश्वर महादेव मन्दिरमा वर्षेनी आयोजना हुने यो मेला धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
(समाचार, नुवाकोट Aama Darshan news )