काठमाडौं । तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलमा विषाक्त च्याउ खाँदा १० जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ टिपेर शान्तिटोलस्थित मामाघरमा पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानका अनुसार बिरामी हुनेहरूमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेका छन्।
उनीहरूले शुक्रबार साँझ च्याउ खाएका थिए। खाना खाएपछि उनीहरूलाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। हाल उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक पासवानले जानकारी दिए।
विशेषज्ञहरूका अनुसार जंगली च्याउमा विषालु तत्व हुने भएकाले राम्रोसँग नचिनि खानु जोखिमपूर्ण हुन्छ। स्वास्थ्यकर्मीहरूले चिनजान नपुगेका च्याउ सेवन नगर्न आग्रह गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता