खानी खोला हाइड्रोपावरले १००% हकप्रद शेयर निष्काशन सुरु



काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आज भदौ ३ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको बराबर अनुपातमा नयाँ शेयर जारी गर्दैछ।


यसअनुसार, कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ता अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। प्रति शेयर अंकित मूल्य रू. १०० रहँदा, यसबाट जम्मा रू. ४६ करोड ५७ लाख १४ हजार ३०० संकलन हुनेछ।


कम्पनीले यसअघि असार २७ गते बुकक्लोज गरेको थियो। सो कारण असार २६ गतेसम्म नेप्सेमा शेयर कायम गरेका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ २३ गतेसम्म रहनेछ।


निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ICRANP Single B Issuer Rating प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको यस हकप्रदमा लगानीकर्ताले सिटिजन्स क्यापिटल, कुमारी बैंक र सिटिजन्स बैंकका तोकिएका शाखाबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त C-ASBA सेवामार्फत सहभागी बैंक तथा वित्तीय संस्थामा वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी समेत आवेदन दिन सकिनेछ।


हाल कम्पनीको चुक्ता पूँजी रू. ४६.५७ करोड रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी बढेर रू. ९३.१४ करोड पुग्नेछ। कम्पनीले संकलित रकम ऋण परिशोधन, वित्तीय स्थिति मजबुत पार्ने, ब्याज खर्च घटाउने तथा इक्विटी वृद्धि गर्ने उद्देश्यले प्रयोग गर्ने जनाएको छ।

प्रतिक्रिया