कुलेखानी जलाशयमा पानीको सतह वर्षातमै न्यून, काठमाडौँ उपत्यकामा विद्युत अभावको आशंका

काठमाडौँ — मुलुककै एक मात्र जलाशययुक्त जलविद्युत आयोजना कुलेखानीमा पानीको सतह वर्षातकै मौसममा खतराजनक रूपमा घटेको छ। समुद्र सतहबाट अधिकतम १५३० मिटर र न्यूनतम १४९० मिटर सीमा हुने कुलेखानी जलाशय आइतबार १४९२.७ मिटरमा झरेको छ। गत वर्ष यही समयमा सतह १५१३ मिटर थियो।

कुलेखानी जलाशय पूरै भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुने र २२० हेक्टर क्षेत्र डुबानमा पर्ने गर्छ। तर यस वर्ष आसपासका क्षेत्रमा पर्याप्त वर्षा नहुँदा जलाशय भरिनु तर्फ नजाँई रित्तिदैँ गएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले जनाएका छन्।

कुलेखानी–१ बाट ६० मेगावाट, कुलेखानी–२ बाट ३२ मेगावाट र कुलेखानी–३ बाट १४ मेगावाट गरी कुल १०६ मेगावाट उत्पादन क्षमतायुक्त यो आयोजना काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिको मुख्य आधार हो। वर्षातमा पानी संकलन गरी हिउँदमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने परम्परा यसपटक संकटमा पर्न सक्ने प्राधिकरणको चेतावनी छ।

“पानी अझै पर्ला र पोखरी भरिएला भन्ने आश छ, तर यो अवस्थामा भरिएन भने यो हिउँदमा काठमाडौँ उपत्यकामा नै विद्युतको कमी हुन सक्छ,” एक अधिकारीले भने।

प्रतिक्रिया