निर्वाचन आयोगमा समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी फागुन २१ का लागि तयारी तीव्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार निर्वाचन आयोगको कार्यालय परिसरमा स्थापना भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले जानकारी दिनुभयो।

समानुपातिकतर्फको निर्वाचन अधिकृतमा आयोगका सचिव माहादेव पन्थ तोकिएका छन् भने सहायक निर्वाचन अधिकृतमा सहसचिव यज्ञप्रसाद भट्टराई नियुक्त भएका छन्। यस कार्यालयमा कूल ४१ जना कर्मचारी कार्यरत रहने र २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

उद्घाटन समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रणाली अन्तर्गतका सबै कार्य यस कार्यालयबाट व्यवस्थित हुने भएकाले सरोकारवालाका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जातीय, भौगोलिक र लैङ्गिक समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबै पक्षको भरोसा कायम रहने बताए।

सो अवसरमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, रसगुन शम्शेर जबरा र आयोगका कर्मचारी उपस्थित थिए।

साथै, अर्थमन्त्री रामेश्वरप्रसाद खनालकानुनमन्त्री अनिलकुमार सिन्हा ले आयोगसँग निर्वाचन पूर्वतयारी र आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका विषयमा छलफल गर्नुभएको थियो। अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो भने कानुनमन्त्री सिन्हाले आवश्यक कानुनी सहायता उपलब्ध गराउने र स्वदेशी वस्तु तथा उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभयो।

निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, सो छलफल र तयारीले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप सहयोग पुगेको छ।

— News Desk, Aama Darshan News

प्रतिक्रिया