‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल म्युजिक ट्रेन्डिङमा"

काठमाडौँ — नेपाली लोकदोहोरी गीत ‘कश्मीरे पछ्यौरी’ विश्वव्यापी रूपमा चर्चामा आएको छ। युट्युबको म्युजिकतर्फको ग्लोबल ट्रेन्डिङ सूचीमा यो गीतले ९८ औं स्थान हासिल गरेको छ। आठ महिना अघि बाबुकृष्ण परियारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले हालसम्म १ करोड ९३ लाख भ्युज प्राप्त गरिसकेको छ।

निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतलाई दीपिका बयम्बुले गाएकी छिन्, भने प्रमेश घिमिरे, सिद्धार्थ आले मगर, रूपी सिञ्जाली र प्रेमा राना मगरले सामूहिक गायनमा साथ दिएका छन्। मौसम हिमालीको कथा र निर्देशनमा बनेको यो गीतले विश्वभरका संगीतप्रेमीको ध्यान आकर्षित गरेको छ।

सुरिलो संगीत, सरल लय र ग्रामीण जीवनशैलीको झल्को दिने भिडियोले गीतलाई विशेष बनाएको छ। ‘कश्मीरे पछ्यौरी’ को सफलताले नेपाली लोकदोहोरी संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने संकेत दिएको छ। गीतलाई युट्युबबाहेक आइट्युन्स, अमेजन म्युजिक, स्पटिफाई, र एप्पल म्युजिकजस्ता अन्य प्लेटफर्ममा पनि सुन्न सकिन्छ।

प्रतिक्रिया