डिजिटल बैंकिङलाई प्राथमिकता दिनुपर्ने: सांसदहरुको सुझाव

काठमाडौं, भदौ १ – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा शुक्रबार भएको छलफलमा सांसदहरुले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

सांसदहरुले पछिल्लो समयमा डिजिटल कारोबारमा ठगीका घटना बढ्दै गएकाले विधेयकमा डिजिटल कारोबारलाई सुदृढ बनाउने विशेष प्रावधान समावेश गर्नुपर्ने बताए। उनीहरुले डिजिटल कारोबारलाई व्यवस्थित गर्न सकिएमा चेक प्रयोगको आवश्यकता पनि घट्न सक्ने धारणा व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कानूनमा वित्तीय सुशासनको परिभाषा स्पष्ट हुनुपर्ने र बैंकिङ प्रणालीलाई सुरक्षित बनाउने आवश्यक रहेको बताए। उनले बैंकिङ प्रणालीलाई डिजिटलाइजेसनतर्फ उन्मुख गर्नुपर्नेमा जोड दिएका छन्।

नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐनमा अदालतको भूमिका स्पष्ट गर्नुपर्ने र बैंकका ग्राहक सुरक्षाको विषयमा व्यापक जानकारी दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले पछिल्लो समय बैंकिङ कारोबारमा बढ्दै गएको अपराधलाई रोक्न साइबर र बैंकिङ अपराधको लागि विशेष व्यवस्था गर्नुपर्ने बताइन्।

नेकपा (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले डिजिटल कारोबारलाई व्यवस्थित बनाउन कानूनी सुधार आवश्यक रहेको र मुलुकबाहिर रकम लैजान रोक लगाउने कानून बनाइनुपर्ने धारणा राखे।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले डिजिटल कारोबारलाई पहुँचयोग्य बनाउन कानूनी प्रावधान समावेश गर्नुपर्ने र बैंकिङ प्रणालीमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न कानूनमा संशोधन आवश्यक रहेको बताए।

प्रतिक्रिया