मन्त्री बब्लु गुप्ताको पहिलो निर्णयः सबै बैठक प्रत्यक्ष प्रसारण हुने


काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार सम्हाल्ने दिनमै पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णय गरेका छन्।

मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले आफ्नो नेतृत्वमा हुने युवा तथा खेलकुद मन्त्रालय र मातहतका सबै निकायका बैठकहरू अबदेखि प्रत्यक्ष प्रसारण गरिने निर्णयमा हस्ताक्षर गरेका हुन्।

उनले भने, “मन्त्रालयका कार्यहरू जनतामाझ खुला र पारदर्शी हुनेछन्। बैठकका निर्णय र छलफल सबैलाई देखिने गरी सञ्चालन गरिनेछ।”

मन्त्री गुप्ताले आगामी दिनमा विस्तृत कार्ययोजना तयार गरी सो निर्णयलाई व्यवहारमा उतारिने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया