काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ।
उद्धारपछि नेपाली सेनाको मेडिकल टिमले गरेको प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनीहरूको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वासको दर र शरीरको तापक्रमलगायत भाइटल प्यारामिटर सामान्य अवस्थामा रहेको जनाएको छ।
लामो समयसम्म सुरुङभित्र फसेको अवस्था र चिसोका कारण हुन सक्ने संक्रमण तथा मनोवैज्ञानिक असरलाई ध्यानमा राख्दै दुवै जनालाई थप निगरानी र आवश्यक उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।
उद्धार गरिएका व्यक्तिहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्। उद्धारपछि नेपाली सेनाले उनीहरूका परिवारसँग समेत सम्पर्क गराइसकेको जनाएको छ।
उद्धार कार्यसँगै आकस्मिक उपचारका लागि नेपाली सेनाको मेडिकल टिम, हेलिकोप्टर तथा ग्राउण्ड एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको थियो।
१० दिनसम्म सुरुङभित्र जीवनसँग संघर्ष गरेर जीवितै बाहिरिएका दुवै जनाको उद्धारले घटनास्थलमा आशा र राहतको वातावरण सिर्जना गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय