ठिङ्गरको ७० रोपनी बाँझो जग्गामा फल्यो ३० लाखको आलु

जोमसोम— सडक संञ्जालले जोडिएसंगै उपल्लो मुस्ताङी किसानले विस्तारै बाँझो जग्गा उपयोगमा ल्याउन थालेका छन् । सडक नहुँदा सदिंयौं वर्षदेखि सुख्खा पठारको रुपमा रहेको बाँझो प्रयोगविहिन  जग्गाहरुलाई स्थानीय कृषकहरुले व्यवसायिक कृषि कर्मको रुपमा अपनाउन थालिएको हो ।

सरकारले कृषि क्षेत्रको समुन्नत विकास तथा प्रर्वद्धन गर्दै खेर गईरहेका बाँझो जग्गालाई उपयोगमा ल्याएर गरिव तथा विपन्न कृषकहरुको जिविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पहल गरेसंगै उपल्लो मुस्ताङमा बाँझा जग्गाहरु उपयोगमा ल्याउन सुरु गरिएको हो । यसैको ज्वलन्त नमूना बनिरहेको छ लोमान्थाङ गाउँपालिका—३ ठिङ्गार गाउँ । आर्थिक वर्ष २०७९÷०८० का लागि संघीय सरकारले आलु साना व्यवसायिक कृषि उत्पादन केन्द्र( पकेट) विकास कार्यक्रमको सशर्त अनुदान २४ लाख र स्थानीय लाभग्राही किसानको समुह ठेकार कृषक समुहको १८ लाख ३० हजार लागत साझ्ेदारीमा सामुहिक आलु खेती गरी पकेट स्थापना गरिएको थियो । यो पटक कार्यक्रममा ठिङ्गरका गाउँका १३ घरधुरीको आवद्धता छ ।

वर्षौदेखि पठार जग्गाको रुपमा बाँझो रहेको जग्गामा गाउँका १३ घरधुरीले सामुहिक रुपमा मिलेर आलु पकेट विकास कार्यक्रमको रुपमा सरकारी अनुदानको सदुपयोग गर्दै आलु खेती गरेका हुन् । उनीहरुले यसअघि सबै घरधुरीको आआफ्नो व्यक्तिगत लालपूर्जावाला जग्गा भएपनि सदुपयोगमा ल्याउन सकेका थिएन् । संघीय सरकारको आलु पकेट कार्यक्रमले उनीहरुको कृषि कर्म निकै फस्टाउन थालेको छ । धुलो उड्ने जग्गा अहिले मोहरमा परिणत हुन थालेपछि ठिङ्गरका किसान दङ्ग छन् ।

ठिङ्गरमा सामुहिक आलु खेती गर्न थालेपछि उनीहरुको बाँझो जग्गा हरियालाीमा परिणत भएको हो । आलु पकेट भनिएको बाँझो जग्गामा मौसम अनुसार विभिन्न तरकारी उत्पादन गर्ने तयारी रहेका छन् ठिङ्गरका किसान । ठेकार कृषक समुह संस्था दर्ता गरी बाँझो जग्गाका लागि उर्वराभूमीमा परिणत गर्दै जिविकोपार्जन सुधारमा लागिपरेको लोमान्थाङ गाउँपालिकाका कृषि शाखा अधिकृत निराजन कटुवालले जानकारी दिए । स्थानीयको ७० रोपनी लालपूर्जा वाला  बाँझो जग्गालाई चक्काबन्दी गरी सम्याएर खेतीयोग्य भूमीमा परिणत गरेको कृषि शाखा अधिकृत कटुवालको भनाई छ । संघीय सरकारको शसर्त बजेट र स्थानीयको संयुक्त लगानीमा आलु पकेट विकास कार्यक्रम कार्यान्वयनमा आएको उनले बताए ।

ठिङ्गर गाउँका १३ घरधुरीले गरेको सामुहिक आलु खेती विस्तार सबैका लागि अहिले लोभलाग्दो बनेको हो ।उनीहरुका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि थप ३० रोपनी जग्गा विस्तार गर्न १२ लाख बजेट विनियोजन भएको कृषि शाखा अधिकृत कटुवालले उल्लेख गरे ।

लोमान्थाङको ठिङ्गर गाउँका किसानले बाँझो जग्गामा आलु खेती गरेर  सुरुवाती वर्षमै करिव ५ सय क्वीन्टर आलु उत्पादन गरेको ठेकार कृषक समुहका अध्यक्ष कर्मा सम्टुक गुरुङले जानकारी दिए । उनले प्रतिकेजी ६० रुपैयाका दरले गाउँमै बिक्री गर्दा करिव ३० लाख बराबरको आम्दानी भएको बताए ।‘पहिलो वर्षमै राम्रो प्रतिफल निस्किएको छ, बाँझो जग्गामा आलु फल्दैनकी भन्ने चिन्ता थियो,समुहका अध्यक्ष गुरुङले भने,‘ सबै घरधुरी किसानको सामुहिक परिश्रम  र मेहनत अनि उचित मलजल र व्यवस्थापनले परिकल्पना साकार हुन थालेको छ ।’उनले अहिले सामुहिक खेतीलाई बिस्तार गर्दै १ सय रोपनी जग्गामा आलु खेती विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।

ठिङ्गरका किसानले स्थानीय जातको सेतो आलुको खेती गरेका हुन् । उपल्लो मुस्ताङमा एकबाली मात्र हुने भएकाले आलु खेतीले राम्रै आर्थिक लाभ लिन सक्ने संम्भावना रहेको छ । खेतीका लागि स्थानीय स्तरमा पालन गरिएका भेडा,च्यांग्रा,झोपा, याकचौरीबनट मल उत्पादन गर्न सकिने भएकाले पनि आलु खेती सप्रिन टेवा पुगेको स्थानीय किसान राजु गुरुङले जानकारी दिए । उनले स्थानीय जातका सेतो आलुको जिल्लामै माग भएकाले बजारिकणका लागि समस्या भएको बताए । अग्लो उचाईको चिसो भूगोलमा उत्पादन गरिएको आलुको माग बढी भएको उनले उल्लेख गरे ।

 उपल्लो मुस्ताङमा खेती योग्य जमिन ज्यादै न्यून छ ।  त्यहाँ उत्पादन भएको सबै आलुहरु व्यापारीहरुले खरिद गरी ट्रक मार्फत पोखरा पू¥याएका थिए । ठिङ्गरको ठेकार कृषक समुहले गतवर्षको चैत्र बैशाखमा आलु लगाएर भदौ ÷असोजमा खेतबाट आलु निकालेका थिए । आलु पकेट व्यवस्थापन,मलजल,खनजोत र बजारिकणका लागि सामुहिक रुपमा खटिने र आम्दानीको मुनाफा पनि सामान रुपले वितरण गर्ने गरेका छन् ।



प्रतिक्रिया