बागमती नदीमा आएको बाढीले सुन्दरीघाट सुकुम्बासी होल्डिङ्ग सेन्टर डुबानमा, ५४ जनाको उद्धार




काठमाडौं, । अविरल वर्षापछि बागमती नदीको जलस्तर बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ्ग सेन्टर डुबानमा परेको छ। डुबानका कारण त्यहाँ बसोबास गरिरहेका सर्वसाधारण प्रभावित भएका छन्।


प्राप्त जानकारीअनुसार शुक्रबार राति १:३८ बजे दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) को कमाण्डमा विपद् व्यवस्थापन (DM) सहित ३० जना तथा नेपाल प्रहरीका ३० जना गरी ६० सदस्यीय संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।


उद्धार टोलीले प्रभावित १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय (TU) परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ। त्यस्तै ६ जना नजिकैको होस्टलमा आश्रय लिएका छन् भने ९४ जनाले तत्काल स्थानान्तरण हुन नमानी पानी नपुगेको सुरक्षित स्थानमै बसिरहेको जनाइएको छ।


हाल सम्बन्धित विषयगत निकाय (Cluster) हरू सक्रिय भई प्रभावित नागरिकका लागि खाना, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरिरहेका छन्।


सुरक्षा निकायले बागमती नदी आसपासका बासिन्दालाई नदीको बहाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय र स्थानीय प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।

प्रतिक्रिया