परीक्षाको मर्यादा विपरीत कार्य गर्ने पाँचजना पक्राउ
पर्सा, चैत १० – पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको जिल्ला परीक्षा समन्वय समितिको टोलीले अनुगमनका क्रममा वीरगन्जको सुर्जीदेवी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित पाँचजनालाई पक्राउ गरेको छ।
अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले परीक्षाको मर्यादा विपरीत कार्य भइरहेको फेला पारेपछि केन्द्राध्यक्ष नन्दकिशोर रामसहित एक सहायक केन्द्राध्यक्ष, एक निरीक्षक र दुई कर्मचारीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
उनका अनुसार, पाँचैजनालाई हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। साथै, परीक्षामा हुने अनियमिततालाई रोक्न परीक्षा केन्द्रको सम्पूर्ण टोली नै परिवर्तन गर्ने तयारी गरिएको उनले बताए।
यसअघि पनि परीक्षाको पहिलो र दोस्रो दिन पर्सामा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै एक केन्द्राध्यक्ष र तीन निरीक्षक कारबाहीमा परेका थिए। गत शुक्रबार वीरगन्जको माइस्थान विद्यापीठ माविको परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा समन्वय समितिले कारबाही गर्दै आइतबारदेखि परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको थियो।
त्यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ माविका धर्मेन्द्र यादव र रामबालक यादवलाई पनि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराएका छन्।
परीक्षाको मर्यादा कायम राख्न र निष्पक्ष परीक्षा संचालन गर्न अनुगमनलाई कडा बनाइएको अधिकारीहरुले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय