काठमाडौँ — नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद कात्तिक ९ गतेसम्म थप गरेको छ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।
बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भदौ ९ गते बुकक्लोज गरेको थियो। सो अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले बैंकलाई हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा ‘इक्राएनपी इस्यूअर रेटिङ सी प्लस (ICRANP Issuer Rating C+)’ प्रदान गरेको छ। यो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही (नवलपरासी) शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय (यज्ञपुरी) तथा टाँडी, पर्सा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय