काठमाडौं आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्र हत्या गरेको बताउँदै निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
गृहमन्त्री रवि लामिछानेकी पत्नीसमेत रहेकी पौडेलले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् । चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए। तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट 'हिलो छ्याप्ने' काम भएको बताएकी छन् ।
उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् । "म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ," उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।
आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको उनको गुनासो छ ।
"एउटी नारीमाथि सबैले मिलेर देखाएको यो 'पुरुषार्थलाई' मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ," उनले भनेकी छन् ।