काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याइएको थियो। यी शेयरहरु बाँडफाँट भइसकेको छ। अब दोस्रो चरणमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरिएको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। फागुन २५ गते साँझसम्ममा कम्पनीको शेयरमा १५ लाख ९० हजार ५९४ आवेदनमार्फत १ करोड ९२ लाख ५७ हजार ११० कित्ता शेयरका लागि आवेदन परिसकेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ अनलाईन प्रणाली प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़