संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा खतिवडाको निर्विरोध चयन भएको घोषणा गरिएको हो । यसअघि समितिको सभापतिमा रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए भने नेकपा (एमाले)का सांसद महेश बर्तौलाले उक्त प्रस्तावलाई समर्थन गरेका थिए ।

यसअघि खतिवडा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका थिए । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको विवादका कारण गठित छानबिन समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया