दसैँ मनाउन काठमाडौंबाट बाहिरिनेको भीड, टिकट अभावले यात्रा कष्टकर

काठमाडौं – दसैँ पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यससँगै लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकटको अभावले यात्रुहरूलाई ठूलो समस्या उत्पन्न भएको छ।


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार असोज १४ गतेदेखि २० गतेसम्म ३ लाख ६३ हजार १६४ यात्रुले दसैँ मनाउन उपत्यका छाडेका छन्। शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौं छाडेको विवरण छ।


उपत्यकाका नाका र राजमार्गहरूमा यात्रा गर्ने सवारीसाधनको अत्यधिक चापले गर्दा जामको समस्या बढेको छ। केही स्थानमा सडक बिग्रँदा र भासिँदा यात्रुलाई थप कठिनाइ भएको सवारी चालकहरूले जानकारी दिएका छन्।


टिकट अभावका कारण धेरैले घर फर्किन नसकेको गुनासो गरेका छन्। कैलालीका यात्रु लोकेश सिंहले भने, “बस र हवाई टिकट पाउन निकै गाह्रो भएको छ। मैले पहिले नै टिकट काटेकाले सिट पाएँ, तर मेरा साथीहरू टिकट नपाएर काठमाडौंमै बस्न बाध्य भएका छन्।”


अहिले यात्रुहरूले महँगो मूल्यमा टिकट खरिद गरेर यात्रा गर्नुपरेको छ भने केही यात्रुहरू टिकट नपाउँदा बसका बोनट र छतमा बसेर यात्रा गर्न बाध्य भएका छन्।


यसरी दशैँको समयमा काठमाडौँबाट घर फर्किन चाहने नागरिकहरू टिकट अभाव र यात्रामा हुने कठिनाइबाट प्रभावित बनेका छन्।


प्रतिक्रिया