प्रधानमन्त्रीको चीन भ्रमणले असंलग्न परराष्ट्र नीतिमा गतिशीलता थपेको छ : सांसद ढकाल


काठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई नेपालको असंलग्न परराष्ट्र नीतिको दृष्टिले ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।


आज संसदमा बोल्दै सांसद ढकालले प्रधानमन्त्रीको भ्रमणलाई लिएर ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) सम्बन्धी भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई दुर्भाग्यपूर्ण बताएका हुन्। उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा संलग्न नहुने घोषित नीति अनुरूप जीएसआईमा संलग्न हुने प्रश्नै नउठ्ने स्पष्ट पारे।


ढकालका अनुसार प्रधानमन्त्रीले शङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाउनु क्षेत्रीय सहकार्य, बहुपक्षीय कूटनीति र चीनसँगको सम्बन्ध सुदृढीकरणतर्फको महत्वपूर्ण कदम हो।


उनले भ्रमणकै क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग “लिपुलेक नेपालको भूमि हो” भन्ने स्पष्ट सन्देश दिनु कूटनीतिक उपलब्धि भएको बताए। ढकालका अनुसार यो भ्रमणले नेपालको असंलग्न परराष्ट्र नीतिमा नयाँ गतिशीलता थप्नुका साथै रूपान्तरणकारी अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा योगदान पुर्‍याएको छ।


“बेइजिङ र तियानजिनमा प्रधानमन्त्री ओलीले बिताएका दिनहरूले नेपालको परराष्ट्र मामिलामा दूरगामी अर्थ राख्छन्,” उनले भने। सांसद ढकालले प्रधानमन्त्रीलाई सिंगो संसदले धन्यवाद दिनुपर्ने धारणा पनि व्यक्त गरे।U

प्रतिक्रिया