इथियोपियाको अफार क्षेत्रको ज्वालामुखी विस्फोटको धुवाँ भारत–हिमालयसम्म फैलिने सम्भावना

इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान भएको ज्वालामुखी विस्फोटको धुवाँ हजारौं किलोमिटर टाढासम्म फैलिँदै दक्षिण एशियातर्फ पनि पुगेको छ। मौसमविद्हरूका अनुसार यो धुवाँको प्रभाव क्रमशः भारत हुँदै हिमाली क्षेत्रमा समेत फैलिन सक्ने सम्भावना बढेको छ।


स्थानीय सञ्चार माध्यमका अनुसार ‘हायली गुब्बी’ ज्वालामुखी विस्फोटपछि आसपासका गाउँहरू बाक्लो खरानी र धुलोको तहले ढाकिएका छन्। स्मिथसोनियन इन्टिच्युटका अनुसार यो ज्वालामुखी झन्डै १२ हजार वर्षपछि पहिलो पटक सक्रिय भएको हो।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले सार्वजनिक गरेका स्याटलाइट तस्बिरहरूमा धुवाँका विशाल बादल ‘रेड सी’ माथि तैरिरहेको देखिन्छ। बिबिसीका अनुसार ज्वालामुखीबाट छल्किएको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ।



धुवाँका बादल यमन र ओमान हुँदै भारतसम्म प्रवेश गरिसकेको भारतीय मौसम सेवाहरूले जनाएका छन्। ‘इन्डिया मेट स्काई वेदर’का अनुसार धुवाँको बाक्लो लेयर गुजराततर्फ पुगिसकेको छ र १००–१२० किमी प्रतिघन्टाको गतिमा उत्तर भारततर्फ सरिरहेको छ। विस्फोट रोकिएको भए पनि वायुमण्डलमा उठिसकेको धुवाँ तीव्र गतिमा सरेको बताइएको छ।


बिबिसीका अनुसार धुवाँको उचाइ १५ हजारदेखि ४५ हजार फिटसम्म रहेको छ, जसमा खरानी, सल्फर डाइअक्साइड (SO₂) तथा साना ढुंगा–सिसाका कण मिसिएका छन्। वैज्ञानिकहरूको भनाइ अनुसार यस्ता कण र रासायनिक पदार्थले हावाको गुणस्तर, दृष्यमानता तथा हवाई उडानहरूमा असर पार्न सक्छ।


नेपाल तथा हिमाली क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव नपुगे पनि मौसमविद्हरूले धुवाँको बहाव अनुकूल भए केही असर आउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया