महानगरपालिकाको स्वर्णिम योजना: दुई महिनामा ११४ मन्दिर, १११ हिटी, १० कुवा, र ६ पोखरीको सफाइ सम्पन्न

काठमाडौं – महानगरपालिकाले स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ अन्तर्गत गत दुई महिनामा ११४ वटा साना ठूला मन्दिर, १११ वटा हिटी, १० वटा कुवा, र ६ वटा पोखरीको सफाइ कार्य सम्पन्न गरेको छ। सरसफाइ कार्यसँगै मन्दिर, हिटी, र पोखरीहरूको पुनःनिर्माण र मर्मत सम्भार कार्यलाई समेत तीव्रता दिइएको छ।

यो कार्यक्रमको मुख्य उद्देश्य सम्पदा संरक्षण गर्दै शहरको पुरातात्त्विक र सांस्कृतिक महत्व भएका स्थलहरूको सरसफाइ, मर्मत सम्भार, र पुनरुत्थान गर्नु हो। महानगरपालिकाले जनशक्ति व्यवस्थापनको लागि श्रम बैंकको प्रयोग गर्दै १०० जना सरसफाइकर्मी, ४० जना अपाङ्गता भएका व्यक्ति, र ६० जना सिसडोलबासीहरूलाई काममा लगाएको छ। सरसफाइ कार्यमा १० जना सुपरभाइजर र १० जना सबइञ्जिनियरले पनि समन्वय गरेका छन्।

सम्पदा संरक्षण कार्यक्रम अन्तर्गत, ५ जना पेन्टरले मन्दिरहरूको रङरोगन कार्य सम्पन्न गरेका छन् भने ४ वटा हिटीको पुनरुत्थान र सौन्दर्यीकरणमा करिब ३२ लाख रुपैयाँ खर्च भएको छ। विभिन्न वडाहरूमा ढुङ्गेधारा, पोखरी, र कुवा मर्मत तथा पुनःनिर्माणको लागि सम्झौताहरू भएको छ। साथै, सम्पदाहरूको मिचिएको क्षेत्र फिर्ता लिन नापी नक्सा तथा मालपोत श्रेस्ता अनुसार काम भइरहेको छ।

सरसफाइ अभियान दैनिक बिहान ७ बजेबाट सुरु भएर ८ घण्टासम्म सञ्चालन हुने गर्दछ।

प्रतिक्रिया