काठमाडौं । सुन्दर यातायातको एक विद्युतीय बसमा बुधबार राति चार्ज गर्ने क्रममा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धुम्बाराहीस्थित सुन्दर चार्जिङ स्टेसनमा मर्मतका लागि ल्याइएको प्र–३–०१–००५ ख ९६३९ नम्बरको बिजुली बसमा राति ११:२१ बजे धुवाँ देखिएको थियो, जसपछि आगलागी भएको पुष्टि भएको छ।
आगो नियन्त्रण गर्न दुई दमकलसहित प्रहरी वृत्त महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो। दमकल टोलीले राति १२:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ।
सामान्य क्षति, मुख्य ब्याट्री सुरक्षित
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाका अनुसार यो घटना गम्भीर नभएको र गाडीमा मामूली क्षति मात्र पुगेको छ।
उनले भने, “हामीले बीमा दाबी समेत नगर्ने भएका छौँ। मुख्य ब्याट्री सुरक्षित छ, लिड–एसिड ब्याट्रीमा मात्रै समस्या आएको हो।”
उनका अनुसार बसको मुख्य २७५ किलोवाट आवर क्षमताको ब्याट्रीमा आगलागी भएको भए ठूलो क्षति हुने थियो। तर, यो घटनामा स्टार्ट गर्न, बत्ती बाल्न जस्ता कामका लागि प्रयोग हुने लिड–एसिड ब्याट्रीमा मात्र धुवाँ देखिएको हो।
आगो नियन्त्रणको प्रयास
भेषबहादुर थापाका अनुसार दमकल नभई धाराको पानी प्रयोग गरी आगो निभाइएको थियो। आगो निभाउने क्रममा गाडीको सिसा फुटाएर भित्र पानी हालिएको थियो।
उनले सुन्दर यातायातका सबै गाडी सुरक्षित रहेको र यो घटना ठूलो चिन्ताको विषय नभएको बताएका छन्।
विद्युतीय बसको चार्जिङका क्रममा भएको यो घटना गंभीर नभएको र मुख्य ब्याट्री सुरक्षित रहेको यातायात कम्पनीले जनाएको छ। प्रहरी र दमकलको शीघ्र हस्तक्षेपले आगलागी चाँडै नियन्त्रणमा लिइएको हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता