नागार्जुन नगरपालिकाद्वारा आमा दर्शन न्यूजका सञ्चालक सूर्य बहादुर राय सम्मानित


काठमाडौं। नागार्जुन नगरपालिकाले सञ्चार तथा सामाजिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै आमा दर्शन न्यूजका सञ्चालक तथा समाचार प्रकाशक सूर्य बहादुर रायलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेको छ।


नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का अध्यक्ष देवेन्द्र राज गिरीको सभापतित्वमा रायलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो।


मायाको चिनो ग्रहण गर्दै रायले प्राप्त सम्मान सम्पूर्ण आमा दर्शन न्यूज परिवार, पाठक, दर्शक, विज्ञापनदाता तथा शुभेच्छुकहरूलाई समर्पित गर्दै यसले सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारिताप्रति आफूलाई अझ जिम्मेवार बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यमले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आमा दर्शन न्यूजले स्थानीयदेखि राष्ट्रिय तहसम्मका समाचारलाई विश्वसनीय र सन्तुलित रूपमा सम्प्रेषण गर्दै आएकोमा प्रशंसा गरेका थिए।


नागार्जुन नगरपालिकाले प्रदान गरेको मायाको चिनोले आमा दर्शन न्यूजले पत्रकारिता क्षेत्रमा पुर्‍याउँदै आएको योगदानप्रतिको सम्मान र विश्वासलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया