काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न शिक्षण संस्थाका क्यान्टिनहरु अनुगमन हुँदा एक पनि व्यवसायका रूपमा दर्ता नभएको पाइएको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पाँचवटै क्यान्टिन दर्ताविहीन देखिएका हुन्।
अनुगमन टोलीले लैनचौरस्थित अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय तथा शंखमुलस्थित केएमसी स्कूलको क्यान्टिन निरीक्षण गरेको थियो। सबै क्यान्टिनमा स्वच्छता, खानाको गुणस्तर, भान्सा व्यवस्थापन र खाद्य सामग्री भण्डारणमा गम्भीर समस्या भेटिएको टोलीले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका फुड टेक्नोलोजिस्ट अधिकृत अनिल बस्नेतका अनुसार विद्यालय क्यान्टिनको समग्र स्वच्छता अवस्था ‘दयनीय’ रहेको छ। उनका अनुसार तयारी खाद्यवस्तु छोपेर नराख्ने, खाना पकाउने र भाँडा माझ्ने स्थान एउटै ठाउँमा राख्ने, फोहोर व्यवस्थापनमा लापरबाही तथा भान्सा सरसफाइ कमजोर देखिएका सामान्य समस्या हुन्।
अनुगमनका क्रममा शिक्षण संस्थाका व्यवस्थापकहरूले आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाए पनि ‘अफैँमा नमूना बन्नुपर्ने ठाउँमा किन बेवास्ता भयो?’ भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन नसकेका अनुगमन टोलीले जनाएको छ।
समस्या समाधानका लागि अनुगमन टोलीले सम्बन्धित क्यान्टिन तथा संस्थालाई आवश्यक निर्देशन दिएको छ।
२४ मङ्सिर २०८२, मङ्गलबार ०८:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय