नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/८१ को नौ महिनामा रु. ११ अर्ब ६ करोडबराबरको नाफा कमाएको छ। प्राधिकरणको चालू आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल रु. ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु. ८२ अर्ब ८८  करोड खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ।

प्राधिकरणले यस अवधिमा रु. ११ अर्ब ६ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो। गत आर्थिक वर्ष ०७९/८० को सोही अवधिमा प्राधिकरणको नाफा रु. आठ अर्ब ८८ करोड थियो। गत आवको मुनाफा रु. १३ अर्ब ३७ करोड थियो।

प्राधिकरणको सञ्चित मुनाफा रु. ३३ अर्ब ६४ करोड पुगेको छ। आव ०७२/७३ मा रु. आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ। विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारततर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालू आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।

प्राधिकरणले चालू आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु. ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ। यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदमा रु. ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ।

यस अवधिमा हिउँदयामको माग धान्न रु. ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ। आन्तरिक रूपमा खपत गरी बढी भएको रु. १३ अर्ब ४२ करोडबराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। 
 

आफ्नो स्रोतबाट झन्डै १८ अर्ब खर्च

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालू आवको चैत महिनासम्ममा रु. १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ। यस अवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु. एक अर्ब ६३ करोड ऋण दिएको छ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु. १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ। यस अवधिमा वैदेशिक सहायतातर्फबाट रु. १४ अर्ब ४३ करोड खर्च भएको छ।

सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेकाे छैन, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौँ रुपैयाँ लगानी गरिरहेको छ। 

प्रतिक्रिया