नेपालले ३० वर्षमा झन्डै एक तिहाई हिमनदी गुमाएको छ : महासचिव गुटेरेस

काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल जलवायु संकटको उच्च मारमा रहेको बताएका छन्। मंगलबार संसदको संयुक्त संसदलाई सम्बोधन गर्दै नेपालको हिमालमा देखिएको संकट डरलाग्दो रहेको बताए।

नेपालले ३० वर्षमा झन्डै एक तिहाई हिमनदी गुमाएको उनको भनाइ छ। जसका कारण चुनौतीहरू झनै थपिँदै गएको उनले बताए।

हिमनदीहरू असामान्य गतिमा पग्लिँदा त्यसको प्रभाव विनाशकारी हुँदै गएको उनले बताए। उनले पानीले भरिएका ताल फुट्न लागेको, नदी र समुद्रको पानी बढ्दै गएको, संस्कृतिहरूले चुनौतीका सामना गर्नुपरेको बताए। 

नेपालका पहाडहरू उच्च जोखिममात्रै नभएर यहाँका चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम पनि बढ्दो रहेको उनको भनाइ छ। जलवायु परिवर्तनले आगामी दिनमा पानी र जमिनको लागि भयंकर प्रतिस्पर्धा हुने प्रक्षेपण अनुसन्धानले देखाएको महासचिव गुटेरेसले बताए।

उनले जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपाली समुदायहरूप्रति आफू चिन्तित भएको बताए। उनले पीडित नेपालीहरूको साथमा संयुक्त राष्ट्रसंघ रहेको बताए। उनले नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए। त्यसका लागि उनले विश्व समुदायसँग कम्तीमा ५ खर्ब प्रतिवर्ष वितरण गर्न आह्वान गरे। 

उनले नेताहरूलाई ढिलाइ नगरी जलवायुका मुद्दामा काम गर्न आग्रह गरे। वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश रहेको र सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने नेपालको लक्ष्यलाई उनले प्रशंसा गरेका थिए।

अन्नपूर्ण पोस्टबाट साभारः

प्रतिक्रिया